गीत

 

गीत -1

 

एउटा गल्ति लुकाउन हजार गल्ति गरे

थाहाँ छैन जीउँदो छु या आफैभित्र मरे ।

 

बिधाताले लेख्यो की, मनको पागलपनले

जता जाउँ, जहाँ रहुँ पाइन सुख मनले

चढ्नु त शिखर थियो, म त फेदी झरे

थाहाँ छैन जीउँदो छु या आफैभित्र मरे ।

 

सपनाको गल्लीमा हजार फन्को मारे

आफ्नै मनमुटुबाट खै कता बस्ति सारे

छोडी हिँडे मन उतै तनले जङ्घार तरे

थाहाँ छैन जीउँदो छु या आफैभित्र मरे ।

 

 

 

गीत -2

 

ठेगाना बिर्सी हिँडेको ठेगानाबिहिन मान्छे
म मात्रै हो कि यहाँ छन् दुई तीन मान्छे

समुन्द्र भेट्न हिडेको पहाडी खोला जस्तो
मुस्कान टिप्न हिडेको प्रदेशी झोला जस्तो
यहाँ साह्रै अशान्त छ सपनामा लीन मान्छे
म मात्रै हो कि यहाँ छन् दुई तीन मान्छे

आँखा बन्द गरे मात्र पुग्छु यादको बनसम्म

जति यात्रा हिँडे पनि पुगीन आफ्नै मनसम्म

बदलियो कि दुनिया यो, बदलियो एकैछिन मान्छे
म मात्रै हो कि यहाँ छन दुई तीन मान्छे ।

Related Posts

Subscribe Our Newsletter

0 Comments to "गीत"