कविता/ढुङ्गाको निबन्ध


ढुङ्गाको निबन्ध

भाइबहिनी हो !
ढुङ्गाहरू कहिल्यै ढुङ्गा हुँदैनन्
कोमल हुन्छन् ।

साँझ–बिहान
तिमीहरूसँग गट्टा खेल्न आउँछन् ढुङ्गाहरू
तिमीहरू धुलोमा पर्यौउ कि भनेर
ढुङ्गाहरू पिर्का बन्न आउँछन्
तिमीहरुलाई घामले पोल्ला कि भनेर
पानीले भिजाउला कि भनेर
ढुङ्गाहरू ओत बन्न आउँछन् ।

भाइबहिनी हो !
ढुङ्गाहरू कहिल्यै ढुङ्गा हुँदैनन्
दयालु हुन्छन् ।

ढुङ्गाहरू
टुक्रिएर गिट्टी बनिदिन्छन्
बालुवा बनिदिन्छन्
यसरी ढुङ्गाहरू
आमाको ओखती बनिदिन्छन्
तिम्रा लागि कलम–कापी बनिदिन्छन्
निभेको चुलो बालिदिएर
पेटको आगो निभाइदिन्छन् ।

बहुत सहयोगी हुन्छन् ढुङ्गाहरू
भरिया दाइको बिसौनी बनिदिन्छन्
हली दाइको ओछ्यान बनिदिन्छन्
र सिरानी बनिदिन्छन् – गरिबको ।

ढुङ्गाहरूलाई पनि देशको माया छ
ढुङ्गाहरू माटो जोगाइराख्छन्
देश छोडेर कतै जाँदैनन् ढुङ्गाहरू
बरु,
देश छोडेर जान खोज्ने नदीनालाहरूलाई
खेतबारीसम्म पठाइदिन्छन् ।

यिनै ढुङ्गाहरू हुन्
जो नालापानीमा किल्ला बनेर उभिए
देशको रक्षार्थ ढाल बनेर तेर्सिए,
ढुङ्गाहरू देशभक्त हुन्छन् ।

ढुङ्गाहरू भ्रष्टाचार गर्दैनन्
ढुङ्गाहरू तस्करी गर्दैनन्
ढुंगाहरु माटोसंग मिलेर बस्छन्
गोली चलाउँदैनन् – ढुङ्गाहरू ।


ढुङ्गाहरू
शान्त हुन्छन्
के देवताहरु
ढुंगा जस्तै हुन्छन् ?
*****

( कमरेड रोल्पाबाट)

Related Posts

Subscribe Our Newsletter

0 Comments to "कविता/ढुङ्गाको निबन्ध"